कसैको दबाबमा नपर्न मानव अधिकार आयोगको अनुरोध «

राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तहको निर्वाचनमा आफ्नो अधिकारको बारेमा सचेत रहँदै कसको दबावमा नपरी मता हाल्न मतदाताहरुलाई अनुरोध गरेको छ । बिहीवार काठमाडौं पत्रकार सम्मेलन गर्दै आयोगले कसैको प्रभावमा नपरि निर्भिकताका साथ आफूले उपर्युक्त ठानेको जनप्रतिनिधिलाई भोट हाल्न अपिल गरेको हो ।
पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न सरोकारवाला निकायहरुलाई आग्रह गरे । उनले निर्वाचन आयोगबाट जारी आचारसंहीतको पूर्ण पालना गर्न/गराउन, दृष्टिबिहीन तथा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सुत्केरी, बिरामी, अशक्त र किरियापुत्रीलाई मतदान केन्द्रमा सहज पहुँचको व्यवस्था गर्न पनि अनुरोध गरे ।
त्यस्तै आयोगका का.मु सचिव मुरारीप्रसाद खरेलले राष्ट्रिय मानव अधिकार आयोगले गरेको पूर्व अनुगमनबाट स्थानीय तहको निर्वाचनमा महिला र दलितको उम्मेदवारी अत्यन्तै न्युन रहेको पाइएको बताए । उनले मौन अवधिको समयमा मुख्य राजनीतिक दलहरुले नै आचारसंहीता उल्लंघन गरेको पाइएको बताए । उनका अनुसार अशक्त, असहाय र अपाङ्गता भएका व्यक्तिहरुको लागि मतदान स्थलसम्म पुग्न कुनै प्रकारको व्यवस्था नभएको, मतदाता सम्बन्धी वर्गिकृत तथ्यांकको अभावमा महिला, दलित, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरु कतिले मतदान गर्दैछन् भन्ने जानकारी प्राप्त नभएको, मतदान गर्ने केन्दहरु पायक स्थानमा नहुँदा मतदाताहरु ८ देखि १० घण्टासम्म हिँडेर मतदानमा सहभागी बन्नुपर्ने अवस्था रहेको, केही दलहरुले बालबालिकाको प्रयोग, भोजभतेर, सामाजिक सञ्जाल तथा सभामा एक अर्को राजनीतिक दलप्रति गालीगलौज, आचारसंहीता विपरितका प्रचारप्रसार सामग्रीको प्रयोग गरेको छ ।
स्थानीय तहको निर्वाचनका लागि शुक्रबार ५५ वटा टिमले अनुगमन गर्नेछ । आयोगले कतिपय जिल्लामा पर्याप्त मतदान सामग्री नभएको र पानी पर्नसक्ने अवस्थालाई मध्यनजर गरेर पालको व्यवस्था नगर्नुले मतपत्र भिज्ने सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।

Source link